दोस्रो दिन पनि खुलेन गौरीगंगा नगरपालिकाको तालाबन्दी

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकामा लगाइएको तालाबन्दी दोस्रो दिन पनि कायमै छ।

आफ्ना माग सम्बोधन नगरेको भन्दै पाँच दलीय गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)ले हिजो नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो।

नगरपालिकाले अवैधानिकरूपमा थालेको रोयल्टी संकलन र अनावश्यकरूपमा करारमा भर्ना गरेका कर्मचारी हटाउनुपर्ने गठबन्धनको माग छ।

माग सम्बोधन नभएपछि आज पनि तालाबन्दी यथावत रहेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले जानकारी दिए।

ताला खोलौं र वार्तामा बसौं : नगर प्रमुख

नगरपालिकाले आन्दोलनरत पक्षलाई कार्यालयमा लगाइएको तालाबन्दी खोल्न र वार्तामा बस्न आग्रह गरेको छ। नगर प्रमुख भीमबहादुर देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हुन्।

विज्ञप्तिमा आन्दोलनरत पक्षले उठाएका केही माग यही भदौ २४ गते गरिएको पत्राचारमार्फत पूरा भएको र केही छलफलबाट पूरा हुने नगरपालिकाले जनाएको छ। साथै तालाबन्दीका कारण दैनिक प्रशासनिक कामकाज बन्द भएको र सेवाग्राहीलाई सेवासुविधा लिन कठिनाइ भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्