नेपालको नयाँ नक्सा : भारतीय मिडियामा ‘स्क्यान्डल’

काठमाडौं– सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि केही दिनअघि भारतको एक टेलिभिजन च्यानलले ‘नेपाली कांग्रेस नयाँ नक्साको विरोधमा रहेको’ स्क्रोलसहितको रिपोर्ट प्रशारण गर्याे।

नयाँ नक्सा संविधानमा राख्न संविधान संसोधन प्रस्ताव दर्ता हुनुअघि केही समय संसद स्थगित भएको विषयलाई अतिरञ्जित गरेर ‘भारत ’टेलिभिजनले समाचार बनाएको थियो।

समाचार प्रशारण भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटर ह्यान्डलमार्फत पार्टीको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्नुपर्याे।

उनले ट्विटमा लेखे, ‘हामी प्रष्ट छौं– लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग हुन्। अतः संसद्मा दर्ता भएको दर्ता भएको संविधान संसोधन प्रस्ताव सकारात्मक छ। यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं।’

यद्यपि, नेपाली कांग्रेस नेपालको नयाँ नक्सा जारी हुनुअघि नै त्यसमा समेटिएका भूभाग नेपालले पाउनुपर्ने पक्षमै थियो। कांग्रेस नेताले सार्वजनिक मञ्चमा गरेका कुराका आधारमा पनि यो पुष्टि हुन्छ।

केही समयअघि भारतीय टेलिभिजन च्यानल ‘जी न्युज’को ‘डिएनए न्युज’ले पनि नेपालको नयाँ नक्सालाई ‘मेड इन चाइना’ भनेको थियो। जबकी त्यसअघि नै चीनले लिपुलेक सीमा विवाद नेपाल र भारतको मुद्दा भएकाले दुवैले मिलेर सुल्झाउनुपर्ने बताइसकेको थियो।

यी उदाहरण मात्र हुन्, पछिल्लो समय भारतीय मिडियाले नेपाल र नेपालको नयाँ नक्साबारे भ्रम फैलाइरहेका छन्।

भारतीय मिडियाले किन नेपालबारे भ्रम फैलाइरहेका छन्?

जानकारहरु भन्छन्– भारतीय विद्युतीय सञ्चारमाध्यमले हरेक विषयलाई ‘स्क्यान्डल’ बनाउँछन्। र, अतिरञ्जित गरेर प्रस्तुत गर्छन्।

एबिसी टेलिभिजनका सम्पादक राजन शर्मा भारतका विद्युतीय सञ्चारमाध्यमले पत्रकारिताको आधारभूत मान्यता पालना नगरेको बताउँछन्। ‘भारतका विद्युतीय सञ्चारमाध्यमले हरेक विषयलाई ह्युमर र सेन्सेटाइज गर्छन्,’ उनी भन्छन्, ‘तर, यो प्रिन्ट मिडियामा अलि कम छ।’

संस्थापन पक्षको नजिक भएकाले भारतका विद्युतीय सञ्चारमाध्यमले नेपालबारे भ्रम फैलाइरहेको उनको भनाइ छ।

समाचारप्रति नेपाली सेनाको ध्यानाकर्षण

भारतका केही सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको नेपाली सेनाले जनाएको छ।

सेनाले विज्ञप्ति प्रकाशित गरी ती समाचार दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ।

सेनाले ‘हिन्दुस्तान टाइम्स डट कम’मा ‘इन ह्युग सेटब्याक टु पीएम ओली, नेपालस् न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ तथा ‘टिएफआई पोस्ट डट कम’मा ‘ओली अर्डर्ड नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफस रिमार्कस द नेप्लिज जेनेरलर सेड नो थ्यांक’ शीर्षकमा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार रहेको भन्दै खण्डन गरेको हो।

सेनाले नेपालको संविधानअनुरुप सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्