
धनगढी- भारतबाट घर फर्कने क्रममा सीमा नाका गौरीफन्टामा अलपत्र परेका प्रवासीलाई कैलालीका दुई व्यवसायीले खानेकुरा वितरण गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका व्यवसायी पुष्पराज कुँवर र सदस्य महेन्द्र सिंहले भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका साढे चार सय जनालाई चाउचाउ, पानी र जुस वितरण गरेका हुन्। खानेकुरा वितरण गर्न सुरक्षाकर्मीसमेत खटिएका थिए।
सीमा नाकामा रोकिएकाहरु भोकै नपरुन भन्ने उद्देश्यले खानेकुरा वितरण गरिएको कुँवरले जानकारी दिए।
भारतमा कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएपछि त्यहाँ रहेका प्रवासी नेपाली घर फर्किरहेका छन्। पछिल्लो समय सीमामा रोकिएकालाई स्वास्थ्य परीक्षण गरेर उद्धार गर्ने गरिएको छ।
प्रतिक्रिया दिनुहोस्