भारतले भन्यो- नेपालको नयाँ राजनीतिक नक्सा मान्य हुँदैन

नयाँ दिल्ली- भारतले नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सा आफूलाई स्वीकार नहुने बताएको छ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा भारतीय क्षेत्रलाई देखाएको र यो एकतर्फी हर्कत ऐतिहासिक तथ्य तथा सबुतमा आधारित नभएको बताएको छ।

विज्ञप्तिमा नेपाल सरकारको पछिल्लो कदम सीमाको मुद्दा कूटनीतिक वार्ताबाट सुल्झाउनुविपरित रहेको र यस प्रकारका कृत्रिम विस्तारको दाबी भारत स्वीकार नगर्ने उल्लेख छ।

नेपाललाई यस विषयमा भारतको अवस्थाबारे राम्रोसँग जानकारी भएको र यस प्रकारका नक्साबाट अनुचित दाबी नगर्न तथा भारतको सम्प्रभुता एवं क्षेत्रीय अखन्डताको सम्मान गर्न भारतीय विदेश मन्त्रालयले नेपाल सरकारसँग आग्रह गरेको छ।

यस्तै, भारतीय विदेश मन्त्रालयले नेपालको नेतृत्व सकारात्मक वातावरण बनाउँदै राजनीतिक वार्ताका माध्यमबाट सीमा मुद्दा समाधान गर्ने अपेक्षा गरेको छ।
सरकारले आजै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेट्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

६ महिनाअघि भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल भारत सीमा विवाद चर्किएको हो। उक्त नक्सामा भारतले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो भूभाग देखाएको थियो। त्यतिबेला नेपालमा भारतको उक्त कदमको विरोध भएको थियो।

पछिल्लो समय भारतले उक्त क्षेत्र हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा कडा शब्दमा भारतको विरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्