भारतले लिपुलेकमा सडक बनाएको विरोधमा सामाजिक सञ्जालमा आक्रोश

काठमाडौं– नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा आम नागरिकले आक्रोश पोखेका छन्। भारतको उक्त कदमको विरोधमा राजनीतिक दलका नेता, सर्वसाधारणलगायतले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत विरोध जनाइरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘नेपाली भूमि अतिक्रमण गरी बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकारको वक्तव्य सही छ। सो भावना अनुरूप भारत सरकारलाई विरोध पत्र पठाउन, भारतीय राजदूतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरी राष्ट्रसंघ (युएन)मा आवाज उठाउनेलगायत अन्य कदम चाल्न सरकारसँग आग्रह गर्दछु।’

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतको उक्त कदमको विरोध जनाएका छन्।

उनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो (गत बिहीबार) उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्सर्ना गर्दछु। हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस्।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल र भारतबीचको सीमा विवाद उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

उनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं। चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहान्छौं ! नेपाली भूभागहरूबारे उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारको दायित्व पुनः स्मरण गराउँदैछौं !’

स्थानीय गैरसरकारी संस्थामा कार्यरत कैलाली, धनगढीका शैलेन्द्र जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति कटाक्ष गर्दै ट्विट गरेका छन्।

उनले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘प्रजातन्त्र, बहुदल, लोकतन्त्र र गणतन्त्रका नाममा कति धेरै नदीनाला बेचिए, कतिका जमिन बेचिए र देशको विकास न देख्न सकियो न महसुस गर्न नै। हुँदा हुँदा शासन गरिसकेका र गरिरहेका शासकलाई देशको सिमाना कहाँसम्म फैलिएको छ थाहा समेत नहुनु कस्तो विडम्बना हो यो ?’

प्रधानमन्त्री ओलीले मंगलबार लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक बनाएकोबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए।

यस्तै, नेपाली भूमिमा भारतले सडक बनाएको विरोधमा राजनीतिक दल, विद्यार्थी संगठनलगायतले देशका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाएका छन्।

भारतले गत शुक्रबार (वैशाख २६) नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै जाने ‘लिंक रोड’को उद्घाटन गरेको हो। सरकारले विज्ञप्ति जारी गरी भारतको उक्त कदमको विरोध जनाइसकेको छ।

भारतले भने नेपाली भूमिमा सडक नबनाएको दाबी गरिरहेको छ। उसले उत्तराखन्डको पिथौरागढ जिल्लामा सडक बनाएको बताइरहेको छ।

प्रतिक्रिया दिनुहोस्