उपचारपछि निको भएर घर फर्किए ८ संक्रमित

इटहरी– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित आठ बिरामी निको भएर शुक्रबार घर फर्किएका छन्। मोरङको विराटनगरस्थित कोशी अस्पतालमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका ती बिरामी निको भएर घर फर्किएका हुन्।

अस्पतालबाट घर फर्किनेमा उदयपुरका मो. परबेज आलम, अजाद आलम, रौसन खातुन रमुख्तार मियाँ छन्। यस्तै, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन्। डिस्चार्ज हुनेमा एक महिला पनि छिन्।

दुई पटकको थ्रोट स्वाब परीक्षण (पीसीआर) रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएकालाई क्वारेन्टिनमा राखिनेछ। जसमध्ये ७ जना पुरुषलाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ। महिलालाई भने घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ।

योसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ पुगेको छ। नेपालमा भने ३० जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। नेपालमा एक सय एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्