कर्म ठूलो कि भाग्य ?

लक्ष्मण ओझा

कर्म ठूलो कि भाग्य ? यो प्रश्नको जवाफ दिन त्यति सजिलो छैन। कोही कर्मलाई श्रेष्ठ मान्छन् त कोही भाग्य बलवान भएको दाबी गर्छन् ।

यसबारे एक रोचक कथा छ । एक जंगलको दुवैतिर दुई राज्य थिए । जंगलको बीचमा एक सन्त बस्थे । दुवै राजा ती सन्तलाई गुरु मान्थे । र, उनलाई आदर गर्थे ।
जंगलको बीच भागमा एक नदी बग्थ्यो । जो दुवै राज्यको एक मात्र पानीको स्रोत थियो । नदीको स्वामित्वलाई लिएर दुवै राज्यमा विवाद थियो । यी दुवै राज्यको विवाद युद्ध हुने अवस्थामा पुग्यो । युद्ध सुरु हुनुअघि दुवै राजा सन्तकहाँ आशीर्वाद लिन गए ।

पहिलो राजाले सन्तलाई भने, ‘तिम्रो भाग्यमा जित छैन । तर, भगवानको इच्छा ।’ सन्तको कुरा सुनेर राजा चिन्तित भए । तर, फेरि आफूलाई सम्हाले । र, सेनालाई भने, ‘यदि युद्ध हार्नु छ भने हामी पूरै ताकतले लड्नेछौं ।’ आफ्नो प्रदर्शनबाट विश्वका लागि महान उदाहरण बनाउनेछौं ।

केही समयपछि दोस्रो राजा पनि सन्तकहाँ पुगे । उनलाई देखेपछि सन्तले भने, ‘यो समय तिम्रो भाग्य राम्रो छ । अरु भगवानको इच्छा ।’ सन्तको कुरा सुनेर राजा खुसी भयो । ऊ आफ्नो जीत सुनिश्चित भएको सोच्न थाल्यो । र, सेनामा पनि सन्देश पठायो– भाग्य हाम्रो पक्षमा छ, त्यसैले हाम्रो जित सुनिश्चित छ ।

केही समयपछि युद्ध सुरु भयो । युद्धमा पहिलो राजाले पूरै ताकत लगाएको थियो । दोस्रो राजा भने भाग्य आफ्नो पक्षमा भएकाले सहजै युद्ध जित्न सकिन्छ भन्ने मनस्थितिमा थियो ।

युद्धका क्रममा दोस्रो राजाको घोडाको नाल निस्कियो । तर, उसले ध्यान दिएन । किनकि उसको मनमा भाग्यले युद्ध जित्ने कुरा चल्दै थियो । उसले सोच्यो– जब भाग्य नै मेरो पक्षमा छ भने केको डर ? केही समयपछि राजाको घोडा लड्यो । र, राजा विपक्षीको कब्जामा पुग्यो । र, युद्ध हार्यो ।

युद्ध सकिएपछि सन्त पनि युद्धभूमि पुगे । सन्तलाई देख्नेबित्तिकै दुवै राजाले एकै स्वरमा प्रश्न गरे– गुरु, आखिर भाग्यले लेखेको कसरी बदलियो ?

सन्त मुस्कुराए र भने, ‘हे राजन, भाग्य बदलिएको होइन, तपाईंहरू बदलिनुभएको हो । भाग्य त स्थिर छ ।’

सन्तले युद्ध जित्ने राजाप्रति इसारा गर्दै भन्नुभयो, ‘तपाईंले सम्भावित हारबारे जानेर पनि युद्धका लागि दिनरात मेहनत गर्नुभयो । युद्धको तयारीमा आफै अग्रसर हुनुभयो । यसअघि तपाईंले सेनापतिको नेतृत्वमा युद्ध लड्ने रणनीति बनाउनुभएको थियो ।’

सन्तले हार्ने राजाप्रति इसारा गर्दै भन्नुभयो, ‘हे राजन, तपाईंले युद्ध जित्नुअघि नै जितको उत्सव मनाउन थाल्नुभयो । सेनाको रणनीतिबारे त परै जाओस्, आफ्नै घोडाको नाल खसेको पनि पनि ख्याल राख्नुभएन । त्यसैले जे लेखिएको थियो, त्यो भयो । तपाईंहरूको भाग्य बदलिएको होइन, कर्म बदलिएको हो । अब यो परिस्थितिमा भाग्यले मात्रै के गरोस् ?’

भाग्य फलामजस्तै समान हुन्छ, जहाँ कर्मको चुम्बक छ, भाग्य त्यही आकर्षित हुन्छ । खासमा भाग्य हाम्रो कर्मको परिणाम हो । अनुकूल कर्म गरेर भाग्य बदलिन सकिन्छ । तर, भाग्यको भरोसामा रहेर कर्म नगर्नु पराजय, तनाव र दुःख निम्त्याउनु हो ।

गीतमा पनि यही कर्मबारे सन्देष दिइएको छ । गीताको दोस्रो अध्यायको ४७ औं भागमा भगवान श्रीकृष्णले भनेका छन्–

कर्मण्येवाधिकारस्ते मा फलेसु कदाचन ।
मा कर्मफलेहेतुसमा ते सङ्गोस्तवकर्मणे ।।

अर्थात्, कर्ममा तिम्रो अधिकार त छ । तर, कर्मको फलमा तिम्रो अधिकार छैन । यसैले फलप्रति आशक्त भएबिना आफ्नो कर्म गरिरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्