पुदिना खानुहुन्छ ? यस्ता छन् फाइदा

काठमाडौं– पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। यसको सेवनले मुख र सास स्वच्छ राख्न मद्दत गर्छ। यति मात्र होइन, यसको सेवनले विभिन्न स्वास्थ्य समस्याको सहज समाधान हुन सक्छ ।

पाचन प्रक्रियामा सहयोग

पुदिना भोक जगाउने वस्तु हो । तर, यसले पाचन प्रक्रियामा पनि सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्दत गर्छ।

बान्ता रोक्छ

पुदिना खाए बान्ता रोक्न ठूलो सहयोग गर्छ। लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुँघ्नाले ठीक हुन्छ । यति मात्रै होइन, पुदिनाको तेल, निधार, नाकमा लगाउनाले टाउको दुखाइ ठीक हुन्छ।

श्वासप्रश्वासको समस्याबाट छुटकारा

पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने गर्छ । यस्तै, पुदिनाको प्रयोगले श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले श्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीलाई पुदिनाको सेवन गराउने चलन छ ।

महिलाको स्तनको निप्पल चर्कने, फुट्ने वा थुनेलो हुने समस्याको उपचारका लागि पनि यसको सेवन लाभकारी हुन्छ ।

छालाको समस्या हुनेलाई राम्रो

नियमित रूपमा पुदिनाको रस प्रयोगले छाला सफा राख्न सहयोग गर्छ। यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा, पिम्पल्स हटाउन सहयोग गर्ने गर्छ । यस्तै, छालाको एलर्जीको समस्या निराकरण गर्न पनि पुदिनाको सेवन राम्रो मानिन्छ।

मोटोपनको समस्या भएकालाई हितकारी

यदि तपाईं आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुहोस् । किनकि पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरू चाँडो निकाली छिटो पाचन गराउन मद्दत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्त्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । यसले तपाईंको तौल ठीक राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्